बचत सम्बन्धी केही महत्वपूर्ण नियम तथा जानकारीहरु



एक निश्चित समयावधिमा गरिने कुल आम्दानीमा खर्च गरेर बाँकी रहेको रकमलाई बचत भनिन्छ । खर्च गर्दा हामीले अत्यावश्यक खर्च, योजना बनाएको खर्च, कर्जा तिर्न, वैकल्पिक खर्च गर्न, आकस्मिक खर्च गर्न र व्यापार गर्न गरिने खर्च विभिन्न शीर्षकमा छुट्याएर मात्र गर्दा खर्च कम हुन्छ र धनको व्यवस्थापन सहज तरिकाले गर्न सकिन्छ ।

बचत रणनीति
भविष्यको बचतको लागि बचतको लक्ष्य हासिल गर्ने एउटा महत्वपूर्ण तरिका बचत रणनीति बनाउनु हो । यो रणनीति बनाउँदा आफ्नो आम्दानीको लेखाजोखा गर्नु पर्दछ । बचतका प्राथमिकताहरू निर्धारण गर्नु पर्दछ । स्पष्ट योजना तथा रणनीतिले बचत गर्ने अनुशासनको विकास गर्दछ ।

७०–२०–१० नियम
आफ्नो जम्मा आम्दानीको (१००%) रकमलाई यस नियम अनुसार वर्र्गीकरण गर्ने प्रयास गर्नुहोस् ।
(१) ७० प्रतिशत मासिक खर्च गर्नको लागि,
(२) २० प्रतिशत बचतको लागि,
– १० प्रतिशत भविष्यको लागि
– ५ प्रतिशत आपतकालीन सुरक्षाको लागि
– ५ प्रतिशत निश्चित लक्ष्यको लागि
(३) १० प्रतिशत ऋण चुक्ता गर्नको लागि

बैंक तथा वित्तीय संस्थामा बचत गरे के हुन्छ ?

  • कानुनतः इजाजतपत्र प्राप्त निकाय भएको तथा नियमित रूपमा नियमन र सुपरिवेक्षण हुने हुँदा बढी सुरक्षित हुन्छ ।
  • तोकिएको समयमा निश्चित ब्याज पाइन्छ ।
  • पानी, बत्ती, टेलिफोन आदि महसुल तिनै बैंक/वित्तीय संस्थाबाट तिर्ने सुविधाहरू पाउन सकिन्छ ।
  • बचतको सुरक्षण हुँदा रकम डुब्ने डर कम हुन्छ ।
  • ठूलो संस्था भएकाले लेखापरीक्षण हुने, हरेक वर्ष वार्षिक साधारणसभा गर्दा लगानीकर्तालाई जवाफ दिनुपर्ने, सञ्चारमाध्यमले आलोचना गर्न सक्ने, अधिकारप्राप्त संस्थाहरूबाट नियमित निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन हुने भएकाले विश्वासिलो हुनाको साथै कानुनी रूपले बचत सुरक्षित हुन्छ ।

अर्थ–औपचारिक निकायमा बचत गरे के हुन्छ ?

  • औपचारिक संस्था नभएकाले कम सुरक्षित हुन्छ ।
  • निरीक्षण नहुने हुँदा समूहभित्रकै मान्छेहरू आपसमा मिलेर दुरुपयोग गर्न सक्छन् ।
  • पहुँच सजिलो भए पनि समूहको सदस्यले मात्र कारोबार गर्ने सुविधा पाउँछ ।
  • ठूलो रकम ऋण लिनुपरेमा पैसाको अभाव हुने गर्दछ ।
  • बचतमा ब्याज कम मात्र दिने र ऋणमा चर्को ब्याजदर लिने प्रचलनले नोक्सानी पर्न सक्छ ।
  • निकाय–संस्था घाटामा गएको देखाएर ब्याज/प्रतिफल दुवै डुब्ने सम्भावना रहन्छ वा नदिने पनि सम्भावना रहन्छ ।
  • लेखा र लेखापरीक्षण व्यवस्था प्रभावकारी नहुँदा कारोबार र हिसाबकिताब पारदर्र्शी नहुन सक्छ ।

अनौपचारिक निकायमा बचत गरे के हुन्छ ?

  • ऋण लिन सजिलो भए तापनि ब्याजदर धेरै महङ्गो हुन्छ ।
  • कानुनी प्रमाणको अभावमा निक्षेपको रूपमा जम्मा गरेको वा सापटी दिएको रकम डुब्ने सम्भावना रहन्छ ।
  • घरमै बचत गर्दा चोरी, डकैती, आगलागी, फजुल खर्च आदि हुन सक्छ ।
  • इष्टमित्र साथीभाइबीच झैझगडाको कारण बन्न सक्छ ।
  • ढुकुटी सञ्चालकहरू भाग्न सक्ने हुँदा सम्पूर्ण रकम डुब्न सक्छ । ढुकुटी खेल्ने र खेलाउने दुवैलाई कानुनी कारवाही हुने हुँदा सञ्चालक भागेमा कानुनी कारवाही गर्न समेत अप्ठेरो पर्ने हुन्छ ।
  • साहु महाजनले सोझा, सादा, निरक्षर व्यक्तिलाई मनपरी सर्तहरू राखेर तमसुक गराई अन्ततः ऋण लिने व्यक्तिको घरबार नै हडप्ने र ऋणग्रस्तताको जालोमा फस्ने सम्भावना प्रबल हुने र्दछ ।
  • अन्य व्यक्तिलाई रकम प्रयोग गर्न दिँदा उसले बेइमानी गरेमा पैसा डुब्न सक्ने र आफूलाई चाहिएको समयमा रकम उपलव्ध गराउन नसकिने हुन सक्छ ।
  • सुन, चाँदी, घरजग्गा आदिमा लगानी गर्दा अचानक भाउ घट्न गएमा घाटा हुने, घरजग्गा चाहेको समयमा बिक्री नभएमा आफ्नो आवश्यकता टार्न कठिन हुन्छ ।
  • अन्य व्यक्तिलाई रकम प्रयोग गर्न दिँदा उसले बेइमानी गरेमा पैसा डुब्न सक्ने र आफूलाई चाहिएको बखत रकम उपलव्ध गराउन नसकिने हुन सक्छ ।

बचतका सेवाहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू

  • बचत सेवाहरूले सम्पत्ति बढाउनु पर्छ अथवा भविष्यमा आइपर्ने खर–खाँचो टार्न सहयोग गर्नुपर्छ ।
  • विरामी, जीविकोपार्जन, शिक्षा, सामाजिक कार्य आदि आवश्यक खर्चको लागि केही रकम छुट्याउनुपर्छ ।
  • ऋणलाई सम्पत्ति बढाउनको लागि प्रयोग गर्नुपर्छ । जस्तैः व्यवसाय विस्तार ।
  • विवाह, आधारभूत आवश्यकता, बिरामी र शिक्षाको लागि सकभर ऋण लिन हुँदैन । ऐच्छिक अथवा फजुल खर्चहरू घटाउनुपर्छ र भविष्यको निम्ति नभई नहुने खर्चको लागि पहिल्यै सोचविचार गर्नुपर्छ ।

बचत कसरी गर्न सकिन्छ ?

  • आफ्नो कमाइको केही रकम बचत रणनीति अनुसार बचत गरिहाल्नु पर्दछ । यसो गर्नाले धेरै खर्चालु बनिँदैन । सकेसम्म कम रकम खर्च गर्नु पर्दछ ।
  • इच्छा गरेको वस्तु तथा सेवा महङ्गो भएमा त्यस्तोमा खर्च गर्नु हुँदैन । अनिवार्य आवश्यकता परिपूर्ति गरिसकेपछि इच्छाइएका वस्तु तथा सेवालाई थोरै रकम खर्च गरेर उपभोग गर्ने बानी गर्नु पर्दछ ।
  • होलसेल तथा हाटबजारबाट सामान किन्नु पर्दछ ।
  • बाहिर होटलमा गएर खानुभन्दा घरमै खानेकुरा बनाएर खाने गर्नु पर्दछ ।
  • आफ्नो खल्तीमा आवश्यकताभन्दा धेरै पैसा राख्नु हुँदैन । आम्दानीको स्रोत पत्ता लगाउनु पर्दछ ।
  • गाउँघरमा ओभरटाइम काम गर्न खोज्नु पर्दछ ।
  • आफ्नो काम र कर्तव्य राम्रोसँग गरेर आफूले गरिराखेको काममा थप आम्दानी बढाउन सकिन्छ वा आम्दानी बढ्ने गरी जागिरमा पदोन्नति हुन सक्छ ।
  • बचतको समस्याको समाधान खोज्नु पर्दछ ।
  • सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नु पर्छ ।

( यदि कसैले घरमै पैसा बचत गर्ने गरेको छ भने त्यो पैसा चोरी हुने वा आगलागी भएमा नष्ट हुन सक्छ । नेपालमा एउटा कथन पनि छ, “आफ्नो थैली बलियो गर्नू, अरूलाई दोष नलगाउनू” । घरमै बचत गर्नाले यसमा सहज पहुँच हुने भएकोले अनावश्यक ठाउँमा खर्च गर्न सकिन्छ । फलस्वरूप बचत घट्छ । बचत गर्दा जहाँ बचतको सुरक्षा हुन्छ, जहाँ ब्याज राम्रो पाइन्छ र जहाँ ब्याजको बारेमा नियमित सूचना प्राप्त हुन्छ त्यहाँ बचत गर्नु पर्दछ ।)

Note: बैंक तथा वित्तीय संस्थाहरुका व्याज लगायतका महत्वपूर्ण सूचनाहरु हेर्नका Financial Notices लागि मोबाईल एप्स Download गर्नुहोला । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *