Menu

प्रदेश ३ मा मोटरसाइकलमा यात्रु बोक्न ‘प्रतिबन्ध’

0 Comments

काठमाडौं- प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएको छ। प्रदेश ३ ले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई (गैर-व्यावसायिक सवारी) व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको छ। 

निजी सवारीलाई गैर-व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ। गैर-व्यावसायिक सवारीको भाडा निर्धारण र यात्री बिमा सहज भए पनि यस्ता सवारीको रुट कायम गर्न भने जटिल देखिएको छ। 

ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर-व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ। त्यस्तै उपदफा २ मा गैर-व्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ। 

यातायात व्यवस्था विभागले पनि केही समयअघि संघीय सरकारलाई भाडामा यात्रु बोक्ने मोटरसाइकललाई पनि कालो नम्बर प्लेटको व्यवस्था गर्न सुझाव गरेको थियो। त्यसो नगर्ने हो भने टुटल र पठाओ जस्ता सेवा नै बन्द गर्नु उपयुक्त हुने राय विभागको थियो। 

संघीय सरकारले हालसम्म संघीय यातायात ऐन आउन सकेको छैन। प्रदेश ३ सरकारले २०७५ माघमै प्रदेश यातायात व्यवस्था ऐन ल्याइसकेको छ। उक्त ऐनमा गैर-व्यावसायिक सवारीलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। 

तर प्रदेश सरकारले बनाएको यातायात एनेको दफा १३ को उपदफा ४ मा भने उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बिमा गरी यात्रु ओसारपसार गर्न सक्नेछ भनी लेखिएको छ। 

टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेको देखिएकाले यो कानुनविपरीत भएको भन्दै केही समयअघि संघीय सरकारले बन्द गर्नेसमेत भनेको थियो। टुटल र पठाओले लामो समयदेखि मोटरसाइकलमा भाडाका यात्रु बोक्ने प्लेटफर्मका सेवा प्रदान सञ्चालन गर्दै आएका छन्। कानुनी अड्चनका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले बन्द गराउन सुरु गरेको टुटल पठाओको सेवा पुनः सुचारु भएको थियो।

अहिले भने प्रदेश नम्बर ३ सरकारले निश्चित रुट, भाडा तथा यात्रु बिमा गरेपछि मात्र दुईपांग्रे तथा चारपांग्रे गैर-व्यावसायिक सवारीले पनि भाडामा चलाउन पाउने गरी कानुन बनाएको हो। 

Sources: Nepal Live dot com

Leave a Reply

Your email address will not be published. Required fields are marked *